सूचना:
संक्षिप्त परिचय
हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशको एकमात्र तराईको जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सदरमुकाम कावासोतीबाट ९ किलोमिटर उत्तर पश्चिममा अवस्थित छ। साविकको हुप्सेकोट गाउँ विकास समिति, देउराली गाउँ विकास समिति र धौवादी गाउँ विकास समितिलाई समेटेको यस गाउँपालिका १८९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । ६ वटा वडा कार्यालयहरु रहेको यस गाउँपालिकाको केन्द्र वडा न.४ को झ्यालबासमा अवस्थित छ। यस गाउँपालिका तल्लो भाग समथर तराई, बिचको चुरे क्षेत्र र माथिल्लो भू-भाग महाभारत हिमश्रृङ्खला रहेकोले तीनतले गाउँपालिकाको रुपमा परिचित रहेको छ। गिरुबारी, झ्यालबास, बेलुवा, चौरङ्गी, शंखदेव, धौवादी र मौलाथर यस गाउँपालिकाका मुख्य बजार क्षेत्र हुन्। झ्यालबास र गिरुबारी यस गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्र रहेका छन् । वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या २६,५८३ रहेको छ । जस मध्ये महिलाको सङ्ख्या १४,४३० (५४.२८ प्रतिशत) र पुरुषको सङ्ख्या १२,१५३ (४५.७२ प्रतिशत) र जम्मा ६,१७९ घरधुरी रहेको छ । यस गाउँपालिकाको जनघनत्व १४० वर्ग कि.मि. रहेको छ ।
हुप्सेकोट गाउँपालिकाको नामाकरण सम्बन्धमा विभिन्न किंवदन्तीहरु पाइन्छन्। मगर भाषामा हुप्से भनेको जरायो वा मृग र कोट भनेको पुजा गर्ने थान भन्ने बुझिन्छ। यस क्षेत्रमा अत्यधिक रुपमा पाइने जरायो वा मृग कोटको वरिपरि खेल्ने भएकाले हुप्सेकोट रहन गएको किंवदन्ती मगर समुदायका पाकापुस्ताको भनार्इ रहेको छ ।
यस गाउँपालिकाको भौगोलिक अवस्थिति २७०४१’२२" उत्तरी अक्षांश देखि ८४००३’४६" पूर्वी देशान्तरमा पर्दछ । गाउँपालिका समुद्री सतहबाट २९२.५८ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ । यस गाउँपालिकाको पूर्वमा देवचुली नगरपालिका र बुलिङटार गाउँपालिका, उत्तरमा बौदीकाली गाउँपालिका, पश्चिममा मध्यबिन्दु नगरपालिका र दक्षिणमा कावासोती तथा देवचुली नगरपालिका रहेको छ । यस गाउँपालिकाको भौगोलिक अवस्थितिमा वडा नं १ र ३ पुरै समथर, वडा नं २ र ४ का केही क्षेत्र समथर र केही क्षेत्र पहाडी साथै वडा नं ५ र ६ का सम्पूर्ण क्षेत्र उच्च पहाडी भूभागको रुपमा रहेको छ ।
यस गाउँपालिकामा विभिन्न रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी साथै ताल, पोखरी, मठ मन्दिर एवं मनै लोभ्याउने हरिया डाँडाकाडाहरु रहेका छन्। रुद्रप्रताप सेनको रुद्रपुर गढी दरबार (भग्नावशेष), नेपालकै सबैभन्दा ठुलो धौवादी फलामखानी, बसेनी झरना, ऐतिहासिक श्रीपोखरी, गोलपोखरी, शान्ति पार्क, ऐतिहासिक मगर संग्रहालय, दरबार थुम्का, थुम्कीदेवी मन्दिर, पौराणिक कालको मयूरपोखरी, जारे भञ्ज्याङ, खाँडदेवी मन्दिर, भगवान श्रीकृष्ण खेल्ने कृष्ण ढुङ्गा, गोलेनीहरुले रमिता हेर्ने रमितेडाँडा, विष्णुधाम, बौद्ध धर्मावलम्बीहरुको टसि छोयलिङ गुम्बा आदि जस्ता विशेष महत्व बोकेका ऐतिहासिक धरोहरहरुले सुसज्जीत यस हुप्सेकोट गाउँपालिकाले अत्यन्तै पर्यटकीय क्षेत्र विस्तारको सम्भावना बोकेको छ । यस गाउँपालिकामा शंखदेव झरना, गर्भे झरना, पहारे बसेनी झरना र गैडाखोला झरना जस्ता मनमोहक झरनाहरु समेत रहेका छन्। त्यस्तै लोपोन्मुख घोरल, काँडेभ्याकुर तथा अन्य विविध पशुपंक्षीहरुको बासस्थान रहेको यस हुप्सेकोट गाउँपालिकाको भ्रमण गर्ने जो कोही यसको सुन्दरतामा मोहित हुनेछन् ।
पर्यटनका अलावा कृषि यस क्षेत्रको मुख्य आम्दानीको स्रोत हो। भक्तपुरे लोकल काक्रो यस गाउँपालिकाको ब्रान्डको रुपमा स्थापित भएको छ जुन वार्षिक ३० करोड भन्दा बढिको वेचविखन हुने तथ्याङ्क रहेको छ । यसका साथसाथै धान, मकै, आलु, टमाटर, घिउसिमि र पहाडी क्षेत्रमा कोदो, अदुवा, कफि, मह, अम्रिसो, तरूल, पिँडालु लगायतका कृषिजन्य उपजको प्रसस्त उत्पादन हुन्छ ।